१५ भदौ, चितवन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारका लागि आवश्यक रगतको अभाव हुन नदिन माडीको बसन्तपुरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल सन्देशका साथ विश्व रक्तदाता संगठन (World Blood Donors Organization) चितवनको आयोजनामा बसन्तपुरस्थित खुल्ला मञ्चमा सो कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान गर्ने ८१ जनामध्ये ५० जना पुरुष र ३१ जना महिला रहेका छन् । जसमध्ये २३ जनाले पहिलोपटक रक्तदान गरेको आयोजकले जनाएको छ । संगठनका सदस्य डोलनाथ (नारायण) आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल प्रमुख अतिथि र माडी नगरप्रमुख ताराकुमारी काजी महतो विशिष्ट अतिथि रहनुभएको थियो । प्रमुख अतिथि ढकाल र विशिष्ट अतिथि महतोले कार्यक्रमका प्रथम रक्तदाता स्वदेश एफ.एम.का अध्यक्ष एवं नेपाल खुला विश्वविद्यालय ललितपुरका अध्यापक देवनारायण शाहलाई ब्लक ब्याग हस्तान्तरण गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा थारू कल्याणकारीणी सभा क्षेत्र नं. १ माडी, नेपाल रेडक्रस सोसाइटी माडी, लायन्स क्लब अफ माडी इको, बसन्तपुर युनाइटेड क्लब तथा लिवर्टी क्लब इनारबरूवा सह-आयोजकका रूपमा सहभागी रहेका थिए । बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भई उपचारका लागि रगतको माग बढेको अवस्थामा आयोजित यस कार्यक्रमले आवश्यक रगत संकलनमा ठूलो सहयोग पुर्याएको आयोजकले जनाएको छ ।







