२३ असार, चितवन । चितवनको भरतपुरस्थित प्रसिद्ध बैष्णब रेष्टुरेन्टमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । रेष्टुरेन्टमा खाना खाने क्रममा सागमा शंखेकिरा भेटिएपछि प्रशासनले आकस्मिक अनुगमन गरी सेवा बन्द गराएको हो ।
खाना खान पुगेका ग्राहकले सागमा शंखेकिरा फेला पारेपछि तत्काल प्रशासनलाई खबर गरेका थिए । त्यसलगत्तै पुगेको टोलीले अनुगमन गर्दा रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तरसमेत कमजोर पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिनुभयो ।
प्रशासनका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको छ । अब सञ्चालकले आवश्यक सुधारको प्रतिबद्धता जनाउने, तोकिएको जरिवाना बुझाउने र तोकिएको मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति पाउनेछन् । प्रशासनले उपभोक्ताको स्वास्थ्य र खाद्य स्वच्छतामा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ ।




