२६ भदौ, चितवन । माडी १, बरुवामा जारी ३१औँ स्टार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि एप्पल गुरु सूर्यपुर फुटबल क्लब र लोकतान्त्रिक प्याराडाइज युवा क्लब भिड्ने भएका छन् ।
आज सम्पन्न दोस्रो सेमिफाइनलमा लोकतान्त्रिक प्याराडाइज युवा क्लबले आयोजक स्टार स्पोर्ट युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसअघि बिहीबार भएको पहिलो सेमिफाइनलमा सूर्यपुर फुटबल क्लबले चैनपुर युवा क्लब, माडीलाई २–१ गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
तीज तथा जितिया पर्वको अवसरमा आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माडी–१, बरुवास्थित चितई खोला नजिकैको स्टार खेलमैदानमा गत भदौ १९ गते कृष्ण जन्माष्टमीदेखि प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ तथा उपविजेताले १ लाख ३८ हजार ८ सय ८८ रुपैयाँसहित विधागत पुरस्कार प्राप्त गर्नेछन् । तालिका अनुसार भोलि र पर्सि खेल नहुने र त्यसपछिको फाइनल खेलसँगै ३१औँ स्टार कपको विजेताको टुंगो लाग्ने आयोजकले जनाएको छ ।







