१८ भदौ, चितवन । चितवनको माडी नगरपालिकाका तीनवटा माध्यमिक विद्यालयहरूमा नयाँ विद्यालय व्यवस्थापन समिति (विभ्यास) गठन गरिएको छ । माडी ३ बसन्तपुरस्थित माडी मावि, माडी ६ कल्याणपुरस्थित जनकल्याण मावि र माडी १ बरुवास्थित सोमेश्वर माविमा नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन भएका हुन् ।
माडी ३ बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा शिक्षा नियमावलीको दशौँ संशोधन अनुसार समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिमा अभिभावक प्रतिनिधिका रूपमा महिलातर्फ रिमा महतो र दुर्गा भुसाल तथा पुरुषतर्फ गोविन्द चौधरी र नेत्र ज्योति भुसाल चयन हुनुभएको छ । नवनियुक्त प्रधानाध्यापक मुना महतोले नयाँ समितिको आगमनसँगै विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधारमा बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैबिच, माडी ६ कल्याणपुरस्थित नमूना एवं डिजिटल विद्यालयका रूपमा परिचित जनकल्याण माध्यमिक विद्यालयको अध्यक्षमा आचार्य युवा पण्डित सुदर्शन सुवेदी चयन हुनुभएको छ । समितिको अभिभावक सदस्यहरूमा रुकमणि भुसाल, अञ्जना गौतम र निशा कार्की पण्डित, वडा प्रतिनिधिमा दीपेन्द्रराज पौडेल तथा मनोनित सदस्यमा यशोदा क्षेत्री सापकोटा र यमलाल पोख्रेल रहनुभएको छ । शिक्षक प्रतिनिधिमा अमृत गायक र सदस्य–सचिवमा प्रअ रामबहादुर जिसी रहनुभएको छ ।
त्यस्तै, माडी १ बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा विकास अभियन्ता एवं व्यवसायी रविन्द्रसिंह ठकुरी चयन हुनुभएको छ । समितिको सदस्यहरूमा दाताराम पौडेल, टोपकला पोख्रेल, ज्योति सुनार, फुलमाया महतो र सीता परियार रहनुभएको छ भने वडाध्यक्ष अमित कुमार लामा पदेन सदस्य र प्रअ इन्दिरा तिवारी सदस्य–सचिव रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष ठकुरीले विद्यालयलाई विगतको विरासत अनुसार उत्कृष्ट शैक्षिक केन्द्र बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।







