१९ भदौ, चितवन । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना नागरिक बेपत्ता भएका छन् भने १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढीमा परेका माडी नगरपालिका वडा नं. ७ देबेन्द्रपुरका इन्जिनियर विमल काफ्लेको शव कावासोतीमा फेला परेको र आफन्तले देवघाटमा अन्त्येष्टि गरिसकेका छन् ।
बाढीमा परी बेपत्ता हुनेहरू १४ देखि ७० वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार भरतपुर महानगरपालिकाका मात्रै ५ जना नागरिक बाढीमा परी बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा भरतपुर महानगरपालिका वडा नं. ५ तोरीखेतका ४० वर्षीय महेश नेपाली, वडा नं. १६ फुर्तिचोकका ४० वर्षीय विकास बाबु अधिकारी, वडा नं. २३ जगत्पुरका ४१ वर्षीय केशवराज चालिसे, वडा नं. ८ छमुखे चोकका २३ वर्षीय सुगम सिलवाल (स्थायी घर लमजुङ बेसिसहर–१) र वडा नं. ७ कृष्णपुरका ३६ वर्षीय विक्रम उपाध्याय हुनुहुन्छ ।
त्यसैगरी माडी नगरपालिकाका २ जना नागरिक बेपत्ता भएका छन्, जसमा वडा नं. ६ कल्याणपुरका ७० वर्षीय कृष्णराज अर्याल र वडा नं. ८ खर्कटाकी ३५ वर्षीया सुमित्रा भण्डारी थापा हुनुहुन्छ । रत्ननगर नगरपालिकाका पनि २ जना नागरिक सम्पर्कविहीन हुनुभएको छ, जसमा वडा नं. २ का ४६ वर्षीय अर्जुन कान्त थपलिया र वडा नं. १२ सालघारीका १४ वर्षीय बालक गेहित सुनार हुनुहुन्छ ।
साथै खैरहनी नगरपालिका वडा नं. ६ पर्साका ३१ वर्षीय रिकेश कुमार श्रेष्ठ र राप्ती नगरपालिका वडा नं. ८ खुर्कुरेका ५९ वर्षीय योगबहादुर खड्का पनि रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएको भन्दै परिवारले खोजीका लागि प्रहरीकहाँ नाम टिपाएका छन् । बेपत्ता नागरिकहरूको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








