२५ बैशाख, चितवन । चितवनको आँपटारीदेखि देवघाट जोड्ने सडकखण्डमा सवारी आवागमनमा अवरोध र दुर्घटनाको जोखिम निम्त्याएका २५ वटा सालका रुख काट्न सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनले सडक डिभिजन, जिल्ला प्रशासन र देवघाट क्षेत्र विकास समितिसँगको समन्वयमा प्रचलित वन नियमावली अनुसार यी रुख हटाउन थालेको हो । देवघाट क्षेत्र विकास समितिले ६२ वटा रुख काट्न माग गरे पनि प्राविधिक मूल्याङ्कनका आधारमा पहिलो चरणमा २५ वटा मात्र काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
धार्मिक स्थल देवघाट जाने यस साँघुरो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्ने र सडकमै रुख हुँदा दुर्घटनाको जोखिम उच्च रहेकाले मानवीय सुरक्षालाई प्राथमिकता दिँदै यो कदम चालिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । वन कार्यालयले आगामी दिनमा टिकौली, भोजाड र सिमलताल क्षेत्रका सडकमा रहेका जोखिमपूर्ण रुखहरूका साथै व्यक्तिगत जग्गामा रहेका सालका रुख समेत हटाउने तयारी गरेको छ ।



