१९ असार, काठमाडौँ । कृषि , वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरी पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ । बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी , अण्डा तथा दानाको नोक्सानी बेहोरेका किसानलाई राहत दिन विभागको माग बमोजिम उक्त रकम उपलब्ध गराइएको हो ।
गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल काठमाडौँ , ललितपुर , भक्तपुर , काभ्रेपलाञ्चोक , झापा , मोरङ , सुनसरी , महोत्तरी , बारा , चितवन र नवलपरासीमा देखिएको छ । भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित सङ्क्रमण रोक्न यी जिल्लाहरूमा करिब ७ लाख पन्छी , ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो , जसबाट करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
विभागका प्रवक्ता डा . मुकुल उपाध्यायका अनुसार बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ को व्यवस्था बमोजिम प्रमाणित क्षतिको विवरणका आधारमा किसानहरूलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ । यसैबीच , पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण पुष्टि भएका क्षेत्रका पन्छी तथा तिनका उत्पादन बिक्री-वितरण नगर्न व्यवसायीहरूलाई कडा निर्देशन दिएको छ र अटेर गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ , प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रयासहरू जारी राखिएको छ ।




