२१ असार, चितवन / पर्सा । मधेश प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा रोक लगाइएपछि यहाँको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बनेको छ । भन्सार प्रक्रिया पूरा नभएको भन्दै भारतीय सीमा सुरक्षा बल ( बीओपी ) ठोरीले भारतीय सवारीसाधनलाई सीमाबाटै फिर्ता पठाउन थालेको हो ।
ठोरी पर्यटन विकास समितिका अध्यक्ष सुदीप थापाका अनुसार यो निर्णयका कारण दुई दिनमै १७६ वटा पर्यटकीय सवारी साधन नेपाल प्रवेश गर्न नपाई सीमाबाटै फर्किएका छन् । विगतमा दैनिक १०० देखि १५० वटासम्म भारतीय पर्यटकीय गाडी ठोरी हुँदै नेपाल भित्रिने गरेका थिए । पर्यटकहरू सीमाबाटै फर्किन बाध्य हुँदा स्थानीय होटल , रेष्टुरेन्ट , यातायात तथा समग्र व्यापार व्यवसाय संकटमा परेको छ । ठोरीमा अमृतछोटी भन्सार कार्यालयको भवन तयारी अवस्थामा भए पनि लामो समयदेखि नियमित सेवा सञ्चालन नहुँदा यो समस्या निम्तिएको स्थानीयको भनाइ छ ।
यसैबीच , नेपाल घुम्न आएका भारतीय पर्यटकहरूले सीमा क्षेत्रमा भोग्नुपरेको सास्तीप्रति कडा आक्रोश र गुनासो पोखेका छन् । भिडियो अन्तर्वार्तामा उनीहरूले कानुनी प्रक्रिया सहज नहुँदा आफूहरूले दुःख पाएको बताउँदै आगामी दिनमा पनि यस्तै अवस्था रहे अर्कोपटक नेपाल कहिल्यै नआउने चेतावनी दिएका छन् । स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले ठोरीको साख जोगाउन र पर्यटकलाई सहज वातावरण बनाउन भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।




