१७ भदौ, चितवन । चितवनको माडी नगरपालिकाका दुईवटा विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (विभ्यास) तथा शिक्षक–अभावक संघ गठन गरिएको छ । माडी ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय (१–८), रतनी धोवाहा र माडी ६ स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा अभिभावक भेलामार्फत नयाँ प्रतिनिधिहरू छनोट भएका हुन् ।
माडी ३ को रतनी धोवाहास्थित राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षा ऐन, २०२८ को दफा १२ तथा शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) को नियम २९ बमोजिम अभिभावकहरूमध्येबाट ४ जना सदस्य छनोट गरिएको छ । विभ्यास सदस्यहरूमा राजकुमारी महतो, लक्ष्मी महतो, रबिना खातुन र आशा खातुन रहनुभएको छ । त्यसैगरी सोही विद्यालयको शिक्षक–अभिभावक संघका लागि सयुदिन मिया, अमृता शाह, रुपा महतो, सरिता महतो, करण सहनी, सावित्री महतो र निसा मर्दनिया गरी ७ जना अभिभावकहरू छनोट हुनुभएको छ ।
यसैबीच, माडी ६ स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा सम्पन्न अभिभावक भेलाले व्यवस्थापन समितिमा ४ जना सदस्य छनोट गरेको छ । छनोट हुने सदस्यहरूमा प्रदिप बिष्ट, मिनबहादुर परियार, गीतामाया विक र पुष्पा सुनार रहनुभएको छ । अभिभावक तथा सरोकारवालाहरूको सक्रिय सहभागितामा गठन भएका यी समितिहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी व्यवस्थापन तथा विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।







