१९ असार, काठमाडौँ । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ मा अभिनेता विपीन कार्की एकदमै फरक अवतारमा देखिने हुनुभएको छ । ब्लकबस्टर साबित भइसकेको यो चर्चित सिरिजमा विपीन पहिलोपटक जोडिनुभएको हो र यसपटक उहाँ चलचित्रमा भिलेनको रूपमा प्रस्तुत हुँदै हुनुहुन्छ ।
विपीनका अनुसार खलपात्रका रूपमा काम गर्दा कलाकारलाई आफ्नो आवरण र हाउभाउ परिवर्तन गर्न बढी स्वतन्त्रता मिल्छ । प्रोटागोनिस्ट (नायक) को भूमिकामा काम गर्दा स्वर र लुक्समा धेरै परिवर्तन गर्न चाहेर पनि सम्भव नहुने तर एन्टागोनिस्ट (खलनायक) का रूपमा स्वर र स्वरूप दुवैमा नयाँ प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । दर्शकले यस चलचित्रमा आफ्नो चरित्रलाई पक्कै पनि फरक रूपमा पाउने उहाँको दाबी छ ।
रामबाबु गुरुङले निर्देशन गरिरहनुभएको यस चलचित्रमा विपीनका साथै दयाहाङ राई , मिरुना मगर , विजय बराल , बुद्धि तामाङ , कमलमणि नेपाल , अरुणा कार्की , शिशिर वाङ्गदेल , सिर्जना गुरुङ र रिश्मा गुरुङ लगायतका स्थापित कलाकारहरूको मुख्य अभिनय रहनेछ ।




