१० जेठ, काठमाडौं । श्रोत नखुलेको सम्पत्तिबाट शेयर खरिद गरेको र विवादास्पद व्यवसायीसँग साझेदारी रहेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ फेरि गृह मन्त्रालयको जिम्मेवारीमा फर्कने भएका छन् ।
छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा उनीविरुद्ध लागेका आरोप पुष्टि हुने आधार नदेखिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पूर्ववत जिम्मेवारीमा फर्काउने तयारी गरेका हुन् । विरोध भएपछि मन्त्री नियुक्त भएको २६ दिनमै गत ९ वैशाखमा राजीनामा दिएका गुरुङलाई कानूनविपरीत काम गरेको पुष्टि नभएकाले केही दिनभित्रै पुन : जिम्मेवारी सुम्पिने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । हाल गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका छन् ।
यसअघि गृहमन्त्रीको अनुपस्थितिलाई लिएर संसद र संसदीय समितिमा विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए । प्रधानमन्त्री शाहले भने छानबिन समितिको प्रतिवेदन पर्खने र कसुर नदेखिए गुरुङलाई नै निरन्तरता दिने मनस्थिति बनाएका थिए । यसैबीच, मन्त्री पदमा नरहे पनि शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत जवानहरूको स्वास्थ्य अवस्था बुझ्न पुग्दा गुरुङलाई गृहमन्त्री सरहकै व्यवहार गरिएको थियो । गुरुङविरुद्ध उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो, जसले तोकिएकै समयसीमाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।




