६ भदौ, काठमाडौँ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर चासो व्यक्त गर्दै सरकार र प्रहरी प्रशासन निष्पक्ष अनुसन्धानमा जुटिरहेको स्पष्ट पार्नुभएको छ ।
शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै गृहमन्त्री गुरुङले अबोध बालिकामाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको बताउनुभएको छ । पीडित परिवारको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै उहाँले विगतका कमजोरीबाट पाठ सिक्दै अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । गृहमन्त्रीका अनुसार घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ । साथै, बालबालिका तथा महिलाविरुद्ध हुने यस्ता गम्भीर अपराधमा कडा सजायको कानुनी बाधा हटाउन कानुन मन्त्री सोबिता गौतमले आवश्यक संशोधनको मस्यौदा तयार पारिरहेको उहाँले बताउनुभयो ।
यसैबीच, नेपाल प्रहरीले घट्नाको सुरुवातदेखि नै सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३/०४/३१ गते बिहान बालिका हराएको निवेदन प्राप्त हुनासाथ मोबाइल टोली, क्युआरटी र स्थानीय समाजसेवीसहितको संयुक्त टोलीले आसपासका सम्भावित क्षेत्र तथा सीसीटीभी फुटेज चेकजाँच गरी खोजतलास तीव्र पारेको थियो ।
अनुसन्धानकै क्रममा २०८३/०५/०२ गते साँझ जितपुरसिमरा वडा नं. १ स्थित वीरबहादुर रोकाको खाली घरमा गन्ध आएपछि खटिएको प्रहरी टोली र तालिमप्राप्त कुकुरको मद्दतले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले सोही राति १६ वर्षीय म्याजिक सहचालक सुमन थापा (मुख्य अभियुक्त) र २४ वर्षीय म्याजिक चालक प्रोगेश चौधरीलाई नियन्त्रणमा लिएको छ । मुख्य अभियुक्त थापाले नाबालिकालाई चकलेट दिई ललाई-फकाई लगी करणी गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अदालतबाट म्याद थप गरी दुवै जनामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ भने पीडित परिवारको थप जाहेरीका आधारमा अन्य ४ जनालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न आग्रह गर्दै नागरिकलाई कानुनी अनुसन्धान प्रक्रियामा सघाउन अपिल गर्नुभएको छ ।







