२४ जेठ, माडी । लिबर्टी युवा क्लब, माडी ३, इनारबरुवाको आयोजनामा सञ्चालित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता विभिन्न विधाका विजेताहरू घोषणा गर्दै सम्पन्न भएको छ ।
माडी नगरभित्रका विभिन्न क्षेत्रबाट २२ टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको लेभल ‘ए’ तर्फ ईलाका प्रहरी कार्यालय माडीका किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा किरण र योगेन्द्रको जोडीले बिरु चौधरी र विवेश चौधरीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो भने उक्त विधामा सन्देश बराल र विश्वनाथ महतोको जोडीले तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी, प्रतियोगिताको लेभल ‘बी’ तर्फ अक्ष महतो र अभ्यास महतोको जोडी प्रथम स्थान ओगट्न सफल भएको छ । यसै विधामा ईश्वर रिजाल र गौरव मोक्तानको जोडी द्वितीय तथा जितेन्द्र महतो र संजय महतोको जोडी तृतीय स्थानमा समेटिएका छन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूमध्ये आयुष महतो ‘इमर्जिङ प्लेयर’ तथा रामलाल महतो ‘भेट्रान प्लेयर’ घोषित भएका छन् । प्रतियोगिताका सम्पूर्ण विजेता तथा उपविजेता खेलाडीहरूलाई माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतो र माडी ब्याडमिन्टन संघका अध्यक्ष अशोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।




