१६ असार, चितवन । वैकल्पिक खेलाडी ग्याब्रिएल मार्टिनेलीले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि पूर्व विजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न निकै रोमान्चक तथा तनावपूर्ण खेलमा जापानलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै ब्राजिलले नकआउट चरणको यात्रा तय गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । अब ब्राजिलले क्वाटरफाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको २९औं मिनेटमा जापानका काइसु सानोले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । मैदानको मध्यभागमा ब्राजिलियन डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै सानोले एक्लै बल अगाडि बढाएर गरेको शक्तिशाली प्रहारलाई ब्राजिलका स्टार गोलकिपर एलिसन बेकरले रोक्ने कुनै अवसर नै पाएनन् । जर्मन क्लब मेइन्ज ०५ बाट व्यावसायिक फुटबल खेल्ने सानोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो । एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातदेखि नै जापानी पोस्टमा लगातार आक्रमण बुनेको थाल्यो । खेलको ५२औं मिनेटमा डानिलोको पासमा ब्रुनो गुमाएरेसको कडा प्रहार र ५४औं मिनेटमा कासेमिरोको प्रहारलाई जापानी गोलकिपर तथा डिफेन्डरले गोललाइनबाट बचाएका थिए भने लगत्तै भिनिसियस जुनियरको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
त्यसपछि खेलको ५६औं मिनेटमा मिडफिल्डर कासेमिरोले ग्याब्रिएल मागल्हाएसको क्रसमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । यस गोलसँगै ३४ वर्ष १२६ दिनका कासेमिरो विश्वकपमा ब्राजिलका लागि गोल गर्ने दोस्रो पाका खेलाडी बनेका छन् । निर्धारित ९० मिनेटको खेल बराबरीतर्फ धकेलिरहेको अवस्थामा दोस्रो हाफमा मैदान छिरेका मार्टिनेलीले इन्जुरी समयको पाँचौं मिनेटमा सानदार गोल गर्दै ब्राजिलको जित पक्का गरे । जापानका गोलकिपर जिओन सुजुकीले ४ वटा उत्कृष्ट बचाउ गरे पनि टोलीको हार टार्न सकेनन् । यो हारसँगै विश्वकपको नकआउट चरण पार गर्ने जापानको ऐतिहासिक सपना पुनः अधुरै बनेको छ ।




