३ असोज, माडी । समुदायस्तरमा मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्ने वातावरण बनाउन र आवश्यक सेवामा पहुँच पुर्याउन माडी नगरपालिकामा ‘मनको साथी परियोजना’ सुरु गरिएको छ ।
माडी ८ स्थित इन्द्रबस्तीमा आयोजित विशेष समारोहका बिच परियोजनाको औपचारिक शुभारम्भ गरियो । कृष्णराज अधिकारीको अध्यक्षतामा भएको उक्त शुभारम्भ कार्यक्रममा तारा काजी महतो प्रमुख अतिथि र वीरेन्द्र भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन सिद्धिलाल गायकले गर्नुभएको थियो ।
समुदायस्तरमा मानसिक स्वास्थ्य क्षमता अभिवृद्धि, सचेतना, आपसी सहयोग र आत्मनिर्भरता प्रवर्द्धन गर्ने मुख्य उद्देश्य यस परियोजनाले लिएको छ । माडी एकीकृत समावेशी दिगो विकास परियोजना (MIISDP) को कार्यालयीय कार्यान्वयन तथा JLIN Denmark को आर्थिक सहयोगमा यो परियोजना सञ्चालन हुन लागेको हो । कार्यक्रमका क्रममा उपस्थित स्थानीयलाई परियोजनाको उद्देश्य, कार्यक्षेत्र र आगामी गतिविधिबारे स्पष्ट पारिएको थियो ।







