काठमाडौँ । बैशाख ७ गते सोमवार,
जेनजी मुभमेन्ट नेपालले विवादास्पद छवि भएका गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । व्यापारी दीपक भट्टसँगको व्यावसायिक साझेदारी र बढ्दो स्वार्थको द्वन्द्वका कारण यस्तो माग गरिएको हो ।
सोमबार प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा मन्त्री पदमा रहँदा निष्पक्ष छानबिन प्रभावित हुने उल्लेख गरिएको छ । मुभमेन्टले यसलाई ‘स्वार्थको द्वन्द्व’ को स्पष्ट उदाहरण भनेको छ । वक्तव्यमा आफ्नै विरुद्ध छानबिन भइरहँदा पदमा बसिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत भएको जिकिर गरिएको छ । साथै, बालेन शाह नेतृत्वको सरकारलाई क्याबिनेट नियुक्तिलाई ‘कच्चा खेल’ नबनाउन सचेत गराउँदै जिम्मेवार र जवाफदेही बन्न आग्रह गरिएको छ ।
मुभमेन्टले वर्तमान सरकार ७६ जना शहीदको बलिदान र जनादेशको जगमा बनेको भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ । “सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि सम्झौता वा ढिलासुस्ती स्वीकार्य छैन,” प्रवक्ता शाहले भनेका छन् ।
गृहमन्त्री गुरुङ र व्यापारी भट्टबीचको साझेदारी सार्वजनिक भएसँगै सरकारमाथि नैतिक दबाब बढेको छ । मुभमेन्टले समयमै कदम नचालिए थप कडा आन्दोलन गर्ने संकेत समेत दिएको छ ।



