गृहमन्त्री सुधन गुरुङ ले आइतबार चितवनका विभिन्न स्थानको अनुगमन गरेका छन् । राजमार्गमा देखिएका समस्यालाई छिटो समाधान गर्ने उद्देश्यसहित उनी शनिबार राति चितवन पुगेका थिए ।
चितवन पुगेलगत्तै उनले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पहिरोको उच्च जोखिम रहेका घोप्टेभीर र तुईन खोलालगायत क्षेत्रको स्थलगत निरीक्षण गरे। वर्षायाममा पटक–पटक दोहोरिने समस्या यसपटक नआओस् भन्ने लक्ष्यका साथ सम्बन्धित निकायलाई तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिएका छन् । विगतमा विपद्का कारण लामो समय राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति उनले चिन्ता व्यक्त गरे ।
भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा बास बसेका गृहमन्त्री गुरुङले प्रदेश तथा जिल्ला सुरक्षा निकायसँग सुरक्षा अवस्थाबारे जानकारी लिए । सो क्रममा उनले सुशासन कायम गर्न, लागूऔषध नियन्त्रणमा कडाइ गर्न तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गृहमन्त्रीले कारबाही प्रक्रियालाई थप सशक्त बनाउन जोड दिएका छन् ।
यसैबीच, उनले आफ्नो अध्ययन गरेको भरतपुर–२६ ज्योतिनगरस्थित कालिका संस्कारकुलम सेकेण्डरी स्कुलको पनि भ्रमण गरे, जहाँ स्थानीयवासी र शिक्षकहरूले स्वागत गरेका थिए। साथै, उनले रवि लामिछाने को सचिवालय पुगेर पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए ।

चितवन भ्रमणपछि गृहमन्त्री गुरुङ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडक खण्डको निरीक्षणका लागि नवलपरासी पूर्वतर्फ प्रस्थान गरेका छन् ।



