१७ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकका लागि सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि बन्द भएको छ । निकुञ्ज प्रशासनले वर्षात्को समयमा आउने भलबाढी र प्राकृतिक अवरोधका कारण पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जभित्रको सफारी सेवा स्थगित गरिएको हो । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, स-साना खोलाखोल्सीमा बाढी आउने र रुख ढलेर बाटो अवरुद्ध हुने समस्या आउने गर्दछ । यसका साथै यो समय वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागिसमेत उपयुक्त र संवेदनशील अवधि भएकाले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
विगतको परम्परा अनुसार वर्षात्को अवस्था हेरेर आगामी दसैँको आसपासबाट मात्र निकुञ्जभित्रको सफारी पुनः खुला गरिनेछ । निकुञ्जभित्र छिर्ने जीप सफारी रोकिए पनि सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न क्षेत्रका सामुदायिक वनहरूमा गरिने सफारी भने सुचारु नै रहने निकुञ्जले जनाएको छ ।




