१२ जेठ, चितवन । भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ । अस्पताल प्रशासनले गत जेठ ७ गते एक पत्र काट्दै तोकिएको म्यादभित्र संरचना खाली गर्न निर्देशन दिएको हो ।
भरतपुर अस्पतालका अनुसार उक्त संरचनाहरू सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गराउन प्रक्रिया अगाडि बढाइएको हो । यसअघि ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ अनुसार सम्झौता नवीकरणका लागि पटक-पटक पत्राचार गरिए पनि सम्बन्धित पक्ष समन्वयमा नआएको भरतपुर अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले कार्यनीतिको दफा २१ बमोजिमको प्रक्रिया अवलम्बन गर्दै निर्धारित समयभित्र जग्गा तथा भवन बुझाउन स्पष्ट निर्देशन दिएको छ ।
आँखा अस्पतालको दाबी : “मन्त्रिपरिषद्को निर्णयबाट प्राप्त जग्गा”
यता भरतपुर आँखा अस्पतालले भने भरतपुर अस्पतालको उक्त कदमप्रति असहमति जनाएको छ । आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार उक्त जग्गा कुनै लिज सम्झौता अन्तर्गत नभई तत्कालीन मन्त्रिपरिषद्को २०४० साल माघ ३ गतेको निर्णयअनुसार नेपाल नेत्रज्योति संघलाई स्थायी रूपमा प्रदान गरिएको हो ।
अध्यक्ष श्रेष्ठले तत्कालीन सरकारको निर्णय, स्वास्थ्य मन्त्रालयको प्रस्ताव, अर्थ मन्त्रालयको सहमति तथा सम्बन्धित सरकारी निकायहरूको आधिकारिक प्रमाणका आधारमा करिब ४ बिघा जग्गा आँखा अस्पताल सञ्चालनका लागि प्राप्त भएको दाबी गर्नुभयो । दुई विशिष्ट स्वास्थ्य संस्थाबीच जग्गा स्वामित्वको विषयलाई लिएर विवाद बढेपछि यसले स्थानीयस्तरमा चासो बढाएको छ ।




