११ जेठ, माडी । चितवनको माडीमा आगामी जेठ तेस्रो साता ‘प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ । ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने मूल नाराका साथ माडी नगरपालिकाको समन्वय तथा लिबर्टी यूथ क्लब माडी ३, इनारबरुवाको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता जेठ २३ र २४ गते दुई दिनसम्म बघौडा कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगितामा ‘ए’ तथा ‘बी’ लेभल मेन्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । नगरस्तरीय प्रतियोगिता भएकाले सहभागी खेलाडीहरू माडी नगरभित्रका रैथाने बासिन्दा वा नगरभित्रका विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी हुनुपर्ने प्रावधान राखिएको छ । खेलहरू ब्याडमिन्टन एसोसिएसनको आधिकारिक नियम तथा नीति अनुसार सञ्चालन गरिने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि टिम दर्ता शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ । दर्ता गराउने अन्तिम मिति २०८३ जेठ २१ गतेसम्म तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टोलीलाई आकर्षक नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
आयोजकका अनुसार खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्री तथा आयोजक समितिको निर्णय अन्तिम हुनेछ । साथै, प्रतियोगिताको अवधिमा खेलाडी घाइते भएमा प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्ने भए पनि थप उपचार खर्च सम्बन्धित खेलाडी स्वयंले व्यहोर्नुपर्ने नियम तथा सर्तमा उल्लेख गरिएको छ ।




