०८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका विभिन्न क्षेत्रमा गएरातिदेखि नै वर्षा भइरहेको छ । पानी पर्ने र रोकिने क्रम आज दिनभर जारी रहने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जिव अधिकारीका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्म हिजोदेखि नै वर्षा भइरहेको हो । पूर्वी भूभागमा भारत नजिक विकसित भएको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ भने काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा स्थानीय वायुका कारण पानी परेको हो । काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक आसपास फैलिएको वर्षा गराउने बादल क्रमशः पूर्वतिर सरिरहेको उनले जानकारी दिए ।
गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसमविद अधिकारीका अनुसार अहिले फैलिएको बादल केही घण्टामै काठमाडौं उपत्यकाबाट पूर्वतिर सरिने भएकाले केही समय पानी रोकिने सम्भावना छ । त्यसपछि अपराह्नतिर फेरि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य नेपालमा वर्षासँगै मौसम शीतल बनेको भए पनि पश्चिमी क्षेत्रमा भने अझै गर्मी बढ्दो अवस्थामा रहेको छ ।
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । मौसमविदहरूले लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।




