१५ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको भन्दै जिल्लाका नेताहरूले खुसी व्यक्त गरेका छन् । महाधिवेशनस्थल भरतपुरमा गर्ने निर्णय भएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चितवनले व्यापक रूपमा प्रचारप्रसार पाएको स्थानीय व्यवस्थापन सम्हाल्नुभएका रास्वपाका नेताहरूले बताउनुभएको छ । पार्टीको उर्वरभूमि चितवनलाई प्राथमिकता दिई यहाँ महाधिवेशन गर्ने अवसर प्रदान गरेकामा उहाँहरूले पार्टी नेतृत्वलाई धन्यवाद समेत दिनुभएको छ ।
महाधिवेशनमा आवास र खानपान व्यवस्थापनको संयोजन गर्नुभएका राजन गौतमले चितवन रास्वपाले ऐतिहासिक अवसर प्राप्त गरेको बताउनुभयो । झण्डै एक साताभर देशभरका रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुक यहाँ बस्दा जिल्लाको समग्र अर्थतन्त्र गतिशील भई जिल्लावासी लाभान्वित भएको उहाँको भनाइ छ । व्यवस्थापनमा अहोरात्र खटिनुपरेका कारण आफूले केन्द्रीय पदमा उम्मेदवारी दिन नपाए पनि महाधिवेशन सफल भएकामा आफू पूर्ण रूपमा सन्तुष्ट र खुसी रहेको नेता गौतमले उल्लेख गर्नुभयो ।
यसैगरी, रास्वपा चितवनका जिल्ला सभापति मिनीमाधव खनालले केन्द्र र जिल्लाको टिम अहोरात्र खटिएकै कारण महाधिवेशन सफल भएको स्पष्ट पार्नुभयो । चितवनले नयाँ नेतृत्व र नीति बनाएर पठाएकाले आफूहरू गौरवान्वित भएको उहाँले बताउनुभयो । यस्तै, जिल्ला सचिव तेजेन्द्र पौडेलले केन्द्रीय पदाधिकारीमा चितवनका तीनवटै संसदीय क्षेत्रका प्रतिनिधि निर्वाचित हुनु गौरवको विषय भएको बताउनुभयो । ऐतिहासिक महाधिवेशनपछि रास्वपा अझ सुदृढ, परिपक्व र राजनीतिक रूपमा चलायमान भएको नेताहरूको निष्कर्ष छ ।




