१२ जेठ, काठमाडौँ । काठमाडौँको चण्डोलस्थित अल शाहिद ओभरसिज प्रालिले साउदी अरबको प्रतिष्ठित ‘मुबारद’ (mubarrad) कम्पनीका लागि खुलाएको विज्ञापन र सम्झौता विपरीत श्रमिकहरूलाई अलपत्र पारेको तथ्य फेला परेको छ ।
म्यानपावरले लट नम्बर ३२४७०९ अन्तर्गत हेभी ड्राइभरका लागि विज्ञापन प्रकाशन गरी झापाको दमक र काठमाडौँमा अन्तर्वार्ता लिएर गत फेबुअरीमा श्रमिकहरूलाई साउदी पठाएको थियो ।

साउदी पुगेर लाइसेन्स बनेको डेढ महिना बितिसक्दा समेत सम्झौता अनुसार मुबारद कम्पनीमा काम नदिई उनीहरूलाई मेहन ह्युमन रिसोर्स जस्ता विभिन्न स्थानीय सप्लाई कम्पनीहरूको जिम्मा लगाइएको छ । पछिल्लो समय म्यानपावरले खानाको पैसा समेत दिन छाडेपछि पीडितहरू अन्य नेपाली साथीहरूसँग सरसापट गरेर छाक टार्न बाध्य छन् ।
कतिपय चालकहरूलाई सम्झौता विपरीत विनासुरक्षा सामग्री चर्को घाममा लेबरको काममा खटाइएको छ । अलपत्र श्रमिकहरूले न्याय र उद्धारका लागि साउदीको श्रम अदालतमा मुद्दासमेत दर्ता गराएका छन् भने म्यानपावरका जिम्मेवार पदाधिकारीहरू हाल सम्पर्कविहीन बनेका छन् ।




