१६ जेठ, माडी । शिक्षासँगै खेलकुद भन्ने मूल नाराका साथ माडीको बसन्तपुरमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा तथा खेलकुद विकास समिति, माडीको आयोजनामा शनिवारदेखि सो प्रतियोगिता सुरु भएको हो ।
बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित एक विशेष समारोहका बीच माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको समुद्घाटन गर्नुभयो ।
शनिवार नै सम्पन्न प्रतियोगिताको रोमाञ्चक उद्घाटन खेलमा जनजीवन माध्यमिक विद्यालय खरकट्टा विजयी भएको छ । जनजीवन माध्यमिक विद्यालय र दिवाकर स्मृति माध्यमिक विद्यालयबीच भएको सो प्रतिस्पर्धात्मक खेलमा जनजीवन मा.वि.ले दिवाकर स्मृतिलाई ४–२ को गोलअन्तरले पराजित गरेको हो ।
यसैगरी, शनिवार नै भएको दोस्रो खेलमा विद्याज्योति ईङ्गलिस स्कुल बरुवा विजयी भएको छ । पिसल्याण्ड ईङ्गलिस स्कुल बसन्तपुर र विद्याज्योति ईङ्गलिस स्कुलबीच भएको निर्धारित समयको खेल ०–० गोलको बराबरीमा सकिएको थियो । निकै नै प्रतिस्पर्धात्मक र रोमान्चक बनेको उक्त खेल टाइब्रेकरमा धकेलिएको थियो । अन्ततः सडन डेथमा ९–८ गोलअन्तरको नतिजा निकाल्दै विद्याज्योतिले जित आफ्नो पोल्टामा पार्न सफल भयो ।
छात्र तथा छात्रा दुवै विधा समावेश गरिएको यस प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँ र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउनुका साथै उनीहरूमा अनुशासन र सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले लिएको छ ।




