४ साउन, काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले १६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा अर्जेन्टिनालाई १-० गोल अन्तरले हराउँदै स्पेनले इतिहास रचेको हो । यसअघि स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै पहिलोपटक विश्वकप जितेको थियो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ३0 मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । खेलको दौरान इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड पाएर मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीको फाइदा उठाउँदै खेलको ११६ औँ मिनेटमा स्पेनका निको विलियम्सको पासलाई फरान टोरेसले उत्कृष्ट गोलमा परिणत गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।
त्यसअघि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका दर्जनौँ प्रहारहरूलाई असफल बनाएका थिए । खेल अवधिभर स्पेनले आक्रामक खेल प्रदर्शन गर्दै २० पटक गोलको प्रयास गरेको थियो, जसमा १२ वटा सट टार्गेटमा थिए । यता, दबाबमा परेको अर्जेन्टिनाले भने खेलभरि एउटा पनि अन-टार्गेट सट प्रहार गर्न सकेन ।




