१५ जेठ, काठमाडौँ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसकेपछि पनि त्यहाँ अवैधानिक रूपमा बसिरहेका ६०२ जना नेपाली नागरिकको जरिबाना तथा भिसा शुल्क मिनाहा गरिदिए पनि अझै आधाभन्दा बढी नेपाली स्वदेश फर्कन बाँकी रहेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको विशेष अनुरोधमा कम्बोडिया सरकारले नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउने उद्देश्यले ८ करोड रुपैयाँभन्दा बढीको जरिबाना मिनाहा गरिदिएको थियो ।
नेपाली राजदूत धनबहादुर वलीका अनुसार आठ पटक गरेर ६०२ जना नेपालीको जरिबाना शुल्क मिनाहा गरिएकोमा ३०० जना नेपाली यसअघि नै स्वदेश फर्किसकेका छन् भने बाँकी ३०२ जना अझै कम्बोडियामै रहेका छन् । बाँकी रहेकामध्ये २५० जना नेपाल फर्कने तयारीमा जुटे पनि पाँचौँ र छैटौँ लटका ५२ जना नेपालीले भने स्वदेश फर्कन लगातार अटेरी गरिरहेका छन् ।
दूतावासले फर्कन बाँकी रहेका सबै नेपालीका लागि यात्रा अनुमति पत्र जारी गरिसकेको छ । राजदूत वलीले भिसा शुल्क मिनाहा भएकामध्ये ५२ जनाले अटेरी गरिरहेको जानकारी दिँदै दूतावासले तोकेको समयसीमाभित्र नफर्के उनीहरूमाथि कम्बोडियाको नयाँ कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन् ।
कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ अध्यागमन कानुन अत्यन्तै कडा रहेको र तोकिएको अवधिभित्र मुलुक नछाडे पक्राउ गरी जेल चलान गरिने दूतावासले जनाएको छ । कम्बोडियाको नयाँ कानुनमा अवैधानिक रूपमा सञ्चालित अनलाइन ठगी केन्द्रहरूमा काम गर्ने तथा भिसा अवधि सकिएर बस्ने विदेशी नागरिकलाई ५ लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था छ । अब पनि फर्कन अटेर गर्ने नेपालीहरू यही कडा कानुनअनुसार कारबाहीमा पर्ने दूतावासको भनाइ छ ।
कम्बोडिया सरकारबाट जरिबाना र भिसा शुल्क मिनाहा पाइसकेका नेपालीहरूले नेपाल फर्कनका लागि हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ । हवाई टिकट सुरक्षित गरिसकेपछि सोको विवरण कम्बोडियाको अध्यागमन विभागलाई बुझाउनुपर्ने नियम रहेको छ ।
विभिन्न मानवतस्करहरूले आकर्षक कमाइको प्रलोभन देखाई ठूलो संख्यामा नेपाली युवाहरूलाई कम्बोडिया पुर्याउने गरेका छन् । त्यहाँ पुगेका युवाहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्रहरूमा बन्धक जस्तै बनाएर काममा लगाउने गरिएको छ । यसरी अलपत्र परेका र ठगिएका नेपालीहरूको उद्धारका लागि बैंककस्थित नेपाली दूतावासले विगत दुई वर्षदेखि निरन्तर समन्वय र उद्धारको काम गर्दै आएको छ ।




