२७ जेठ, माडी । चितवनको माडी ८ स्थित रमणीय बैकुण्ठ क्षेत्रमा जापानी र स्थानीय नागरिकहरूको सहयोगी हातहरूबाट एउटा सुन्दर धार्मिक पर्यटकीय गन्तव्यको रूप लिँदै अरण्य बौद्ध बिहार (बुद्ध पार्क) को निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । मनमोहक डाँडोमा अवस्थित यस पार्कमा पूर्णकदको भीमकाय बुद्ध मूर्ति र आकर्षक बौद्ध स्तूपा निर्माणको काम तीव्र गतिमा भइरहेको छ, जसले यस क्षेत्रको सौन्दर्यलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
जापानी समाजसेवी तथा तान्वारा मिहो सोसियल वेलफेयर फाउण्डेशनकी प्रमुख मिहो तान्वाराको विशेष पहल र मुख्य आर्थिक सहयोगमा यो परियोजनाले मूर्त रूप लिइरहेको बिहार व्यवस्थापन समितिका अध्यक्ष एवं माडी ८ का पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीले बताउनुभएको छ । यस पुण्य कार्यमा देश तथा विदेशमा रहेका अन्य परोपकारी मनहरू पनि जोडिएका छन्। हाल भारतको नयाँदिल्लीमा बस्दै आउनुभएका बलराम आचार्यको सहयोगमा विश्रामका लागि सुन्दर सत्तल निर्माण भएको छ भने उपेन्द्र जोशी र उहाँको परिवारले पार्कको प्रवेशद्वारमा एउटा आकर्षक गेट निर्माण गरिदिनुभएको छ । त्यस्तै, वडा नं. ८ को कार्यालयले पार्कसम्म पुग्न सहज बनाउन रेलिङसहितको व्यवस्थित सिंढी निर्माण गरेर सराहनीय योगदान पुर्याएको छ ।
पार्कलाई थप सुसज्जित बनाउन बिहार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन आलेमगरले दुईवटा बुद्ध मूर्ति प्रतिस्थापन गर्नुभएको छ । स्थानीय सरकारको तर्फबाट पनि यस कार्यमा उत्तिकै उत्साहजनक साथ मिलेको छ, जहाँ माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले व्यक्तिगत रूपमा १८ हजार रुपैयाँ मूल्य बराबरको साउण्ड सिस्टम प्रदान गर्नुभएको छ भने माडी नगरपालिकाले मोटर जडान गरी पिउने पानीको भरपर्दो प्रबन्ध मिलाइदिएको छ । यस पवित्र अभियानमा स्थानीय अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति र बैकुण्ठे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह लगायतका विभिन्न संघसंस्थाहरूले निरन्तर सहयोग गरिरहेका छन् । सहयोगी सम्पूर्ण मनहरू प्रति कृतज्ञता प्रकट गर्दै अध्यक्ष अधिकारीले प्रसिद्ध बैकुण्ठ मेला लाग्ने चौर नजिकैको यस फराकिलो डाँडोलाई माडीकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो ।




