काठमाडौं । श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीप्रति राज्यले अपनाएको नीति र दमनकारी व्यवहारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विशाल खबरदारी प्रदर्शन गरेको छ ।
यो देश धनीको मात्र नभई गरिबको पनि हो भन्ने नाराका साथ सडकमा उत्रिएका प्रदर्शनकारीहरूले गाँस, वास र कपास जस्ता मौलिक अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर भूमिहीनका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न र गरिबलाई उठिवास लगाउने कार्य तत्काल बन्द गर्न दबाब दिएका हुन् । सो खबरदारी सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारको कार्यशैलीमाथि कडा प्रहार गर्नुभयो ।
उहाँले सरकारले आफ्नै देशका निमुखा सुकुम्बासीका घर टहरा भत्काउन बहादुरी देखाइरहेको तर कालापानी र लिपुलेक जस्ता सामरिक महत्वका क्षेत्रमा विदेशी शक्तिले बाटो बनाइरहँदा मुकदर्शक बनेको आरोप लगाउनुभयो । नेता पठानले सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले आधारभूत सुविधा र सुरक्षाका लागि सङ्घर्ष गरिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै आफ्नै नागरिकलाई भने राज्यले पीडा दिइरहेको बताउनुभयो । प्रधानमन्त्री र सरकारको नेतृत्वले देशको जग्गा संरक्षण गर्नुको साटो आफ्नै जनताको बस्ती मेटाउन तल्लीन रहेको उहाँको दाबी थियो ।
त्यसैगरी नेता पठानले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै उहाँको पारिवारिक सम्पत्तिको विषयमा प्रश्न उठाउनुभयो । आफू पनि प्रमुख शाहको छिमेकी जिल्लाकै बासिन्दा भएको उल्लेख गर्दै उहाँले आफ्नो पुर्खाको नाममा कति बिगाहा जमिन छ र त्यसको वैधानिक लालपुर्जा छ कि छैन भनी स्पष्ट पार्न चुनौती दिनुभयो । सुकुम्बासीलाई स्वदेशमै व्यवस्थापन गर्ने स्पष्ट खाका सरकारसँग नभएको र उनीहरूलाई विदेश पठाउने वा के गर्ने भन्नेमा नेतृत्व अन्योलमा रहेको उहाँको तर्क थियो । नेपालको सम्पूर्ण स्रोत र जमिनमाथि शासकहरूले आफ्नो एकलौटी हक जमाउन खोजेको भन्दै श्रम संस्कृति पार्टीले गरिब र भूमिहीनको अधिकार स्थापित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।



