२० जेठ, काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ । साथै, उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत तथा पूर्ण रूपमा समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ (Neighbourhood First) नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको स्पष्ट पार्दै दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।
विपक्षीय र दलगत सम्बन्धमा छलफल
भेटका अवसरमा उहाँहरूबीच मुख्य गरी निम्न विषयहरूमा छलफल भएको थियो :
• नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध
• रास्वपा र भारतीय जनता पार्टी (भाजपा) बीचको दलगत सम्बन्ध
• दुई देशबीचको आपसी हित तथा विविध आयामहरू
बैठकमा उच्च अधिकारीहरूको उपस्थिति
उच्चस्तरीय भेटवार्तामा दुवै देशका तर्फबाट महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
भारतका तर्फबाट : विदेशमन्त्री डा. एस जयशङ्कर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेशसचिव विक्रम मिश्री ।
नेपालका तर्फबाट : सभापति रवि लामिछाने, उहाँकी धर्मपत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका उच्च अधिकारीहरू ।
पाँचदिने भारत भ्रमण
भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछाने सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । पाँचदिने भ्रमणका क्रममा उहाँले यसअघि मङ्गलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस जयशङ्करसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसक्नुभएको छ ।




