१६ जेठ, चितवन । माडीका मौरीपालक कृषकहरूको छाता संस्था सोमेश्वर मौरीपालक कृषक समूहको अध्यक्षमा विकास ढकाल पुन सर्वसम्मत रूपमा चयन हुनुभएको छ । बसन्तपुरस्थित वडा कार्यालयको सभाहलमा जय किसान भन्ने मूल नाराका साथ सम्पन्न संस्थाको चौथो अधिवेशन तथा पाँचौँ साधारण सभाले ढकाललाई आगामी कार्यकालका लागि पुन नेतृत्व सुम्पिएको हो । उहाँको अघिल्लो कार्यकालको सफल समीक्षा र कृषकहरूको अटुट विश्वासका आधारमा बन्द सत्रले उहाँकै नेतृत्वमा नयाँ कार्यसमिति पुनर्गठन गर्ने निर्णय गरेको हो ।
अधिवेशनबाट संस्थाको सचिवमा जया पौडेल र कोषाध्यक्षमा रेखा अर्याल निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमश पाङ्जु शेर्पा (विजय), रत्नराज महतो, लक्ष्मी लामिछाने, माया बस्याल, मुरारी खड्का र मनिषा कार्की चयन हुनुभएको छ भने बाँकी दुई सदस्य पद आगामी बैठकबाट मनोनयन गरिने समूहले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं ३ नुम्बरका वडा अध्यक्ष पुरन महतोले मन्तव्य राख्दै माडी क्षेत्रमा मौरीपालनको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गर्न पालिका नेतृत्वसँग समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारण सभामा संस्थाका पूर्व अध्यक्ष हेमकला उपाध्याय, सल्लाहकार ओमनाथ पाण्डे, कृषि अगुवा गोपाल अधिकारी, सामाजिक व्यक्तित्व भागीरथ बस्याल तथा जया पौडेल लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।
दोस्रो कार्यकालका लागि चुनिएपछि प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष ढकालले आफूमाथि कृषकहरूले देखाएको थप विश्वासको कदर गर्दै माडी क्षेत्रमा उत्पादित महको ब्रान्डिङ, बजार प्रवर्द्धन र आधुनिक प्रविधिको विस्तारमा आफ्नो टोली अझ सशक्त रूपमा लाग्ने बताउनुभयो ।




