५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरु भएको छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल भइरहेको छ ।
त्यस्तै केन्द्रीय समिति, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनलाई प्रमुख एजेन्डा बनाइएको छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, भावी योजना, कार्यक्रम तथा अभियानका विषयमा पनि बैठकमा गहन विचार-विमर्श हुने बताइएको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । यसैबीच, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भने मुस्ताङ भ्रमणमा रहेकाले आजको केन्द्रीय समिति बैठकमा उपस्थित हुनुहुन्न ।







