१८ बैशाख, काठमाडौँ | १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर माडीका ३१ जना श्रमिक महिलाहरूले आफूहरू ज्याला ठगीको शिकार भइरहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । श्रमिक महिलाहरूको संजालमार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरूले अनौपचारिक क्षेत्रमा काम गर्दा बारम्बार ज्याला नपाउने, सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिइने गुनासो गरेका छन् ।
महिलाहरूका अनुसार, पुरुषसरह काम गरे पनि आफूहरूलाई कम ज्याला दिइने गरेको छ । “काम एउटै, तर ज्याला फरक—यो अन्याय हो,” उनीहरूको भनाइ छ । उनीहरूले श्रम अनुसारको उचित ज्याला सुनिश्चित गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा श्रमिक महिलाहरूले दैनिक जीवनमा भोग्दै आएको अन्याय, पीडा र आधारभूत श्रम अधिकारबाट वञ्चित हुनुपरेको अवस्थाबारे पनि उल्लेख गरेका छन् । साथै, सुरक्षित कार्यस्थल, आवश्यक सुरक्षा सामग्री, स्वच्छ खानेपानी र स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
श्रमिक महिलाहरूको मागप्रति स्थानीय सरकारको ध्यानाकर्षण भएको बताइएको छ भने यस विषयमा आवश्यक पहल हुने अपेक्षा गरिएको छ ।




