बैशाख ११ गते, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पाण्डेमाथि आफू अनुकूल ठेक्का मिलाउने उद्देश्यले ई–बिडिङ प्रणाली ह्याक गर्ने प्रयास गरेको आरोप लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाण्डे राप्रपाका वरिष्ठ नेता समेत हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
यसअघि पनि पाण्डे विवादमा तानिएका थिए। २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सो प्रकरणमा उनले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । प्रहरीले हालको घटनालाई गम्भीर साइबर अपराधको रूपमा हेरेको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।




