२५ बैशाख, माडी । माडी नगरपालिका ७, देवेन्द्रपुरस्थित शनि धाममा आगामी जेठ २ गते शनिबार ११औँ शनि जयन्ती उत्सव भव्य रूपमा मनाइने भएको छ । धार्मिक पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रममा विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिने आयोजक समितिले जनाएको छ ।
उत्सवको मुख्य आकर्षणका रूपमा चर्चित लोक दोहोरी गायक प्रकाश पराजुलीको विशेष प्रस्तुति रहनेछ । यसका साथै कार्यक्रममा भजन प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता, विशेष पूजा–आराधना र दोहोरी कार्यक्रमको आयोजना गरिनेछ । समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीका अनुसार भजन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमश : ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, परम्परागत सीप संरक्षणका लागि आयोजित दुना टपरी प्रतियोगिताका विजेताहरूलाई क्रमश : १५ सय, १ हजार र ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष शनि धामको विकास, संरक्षण र धार्मिक गतिविधिमा विशेष योगदान पुर्याउँदै आएका व्यक्ति, समूह र संस्थाहरूलाई सम्मान गर्ने रहेको छ । यस प्रकारको सम्मानले समाजमा धार्मिक तथा सामाजिक सेवा गर्नेहरूलाई थप ऊर्जा र प्रेरणा मिल्ने आयोजकको विश्वास छ । स्थानीय कला र परम्पराको जगेर्ना गर्ने लक्ष्य राखिएको यस उत्सवमा आउनुहोस्, सहभागी बनौँ, पुण्य कमाऔँ भन्ने आह्वान गर्दै आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीय बासिन्दाहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।



