२६ जेठ, काठमाडौँ । सरकारले वि.सं. २०५८ मा भएको नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुन : खोल्ने भएको छ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको पदभार ग्रहण गर्दै उक्त हत्याकाण्डको फाइल खोल्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङले अन्य महत्वपूर्ण निर्णयहरू समेत गरेका छन् । उनले ‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा आवश्यक अध्ययन अगाडि बढाउने निर्णय गरेका छन् । यसका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई थप बलियो र सुदृढ बनाउने तथा हाल छानबिनका क्रममा रहेका सम्पूर्ण अनुसन्धान प्रक्रियाहरूलाई छिटो टुंगोमा पुर्याउने निर्णय समेत भएको छ ।
आरोप थेग्न तयार छु, तर चेलीहरूलाई दुःख दिएको सहन्न
मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले आफूमाथि लागेका आरोपहरूका विषयमा पनि आफ्नो धारणा स्पष्ट पारेका छन् । आफूमाथि जस्तोसुकै आरोप लगाए पनि त्यसलाई थेग्न सक्ने क्षमता आफूमा रहेको उनले दाबी गरे ।
ममाथि जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु, तर नेपाली चेलीहरूलाई दुःख दिएको म कदापि सहन सक्दिनँ । – गृहमन्त्री सुधन गुरुङ
आफूमाथि लगाइएका आरोपहरू तथ्यहीन रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरूको भूमिकाप्रति पनि चासो व्यक्त गरे । मिडिया ट्रायल (सञ्चारमाध्यममार्फत गरिने पूर्वपक्ष) का कारण कुनै पनि व्यक्ति आत्महत्या गर्ने स्थितिमा पुग्ने वातावरण बन्न नहुनेमा उनले जोड दिएका छन् ।




