२५ बैशाख, काठमाडौँ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले आज नेपालको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
विभागले कोसी प्रदेशसहित अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेस प्रदेशका थोरै स्थान तथा बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने विभागले जनाएको छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्र र मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मौसममा आएको परिवर्तनसँगै चट्याङ र वर्षाबाट सतर्क रहन विभागले आग्रह गरेको छ ।



