१० असार, माडी । माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वडागत बजेट र विशेष कार्यक्रमहरू सार्वजनिक गरेको छ । नगरसभाको १८ औं अधिवेशनमा नगर उप-प्रमुख खेम प्रसाद महतोले प्रस्तुत गर्नुभएको बजेट वक्तव्य अनुसार नगरका ९ वटै वडाहरूका लागि कुल ९ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेट अनुसार माडी नगरपालिका वडा नं. ९ का लागि सबैभन्दा धेरै १ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, वडा नं. १ का लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा नं. २, ३, ६ र ७ का लागि प्रतिवडा १ करोड रुपैयाँका दरले बजेट व्यवस्था गरिएको छ । यसैगरी, वडा नं. ४, ५ र ८ का लागि भने प्रतिवडा ९० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको विवरणमा उल्लेख छ ।
बजेट वक्तव्यका अनुसार चालू आर्थिक वर्षमा सम्झौता हुन नसकेका वडास्तरीय तथा नगरस्तरीय अधुरा योजना र कार्यक्रमहरूलाई आगामी वर्ष सम्पन्न गर्नका लागि थप १ करोड १५ लाख ६२ हजार ९१३ रुपैयाँ विनियोजन गरिएको छ । यसैबीच, माडी नगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने नीति लिएको छ । जसअन्तर्गत नगरले दुग्ध उत्पादक किसानहरूलाई दूधमा दिँदै आएको प्रतिलिटर ४ रुपैयाँ अनुदानलाई १ रुपैयाँले वृद्धि गरी प्रतिलिटर ५ रुपैयाँ कायम गरेको छ । नगरको यो निर्णयले स्थानीय दुग्ध व्यवसायी र किसानहरूमा उत्साह थपिने अपेक्षा गरिएको छ ।




