११ साउन, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
एक समूहले डीजे बजाएर नाचिरहेका बेला अर्को समूह आएर विवाद गरेपछि दुई पक्षबीच भीषण झडप भएको थियो । दुई समूहबीच उत्पन्न विवाद उग्र बन्दै हिंसात्मक रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरी इन्स्पेक्टर प्रकाश राईले जानकारी दिए । गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको हो ।
घटनामा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका छन् भने झडप नियन्त्रणमा खटिएका ३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राईको टाउकोमा चोट लागेको छ भने अन्य घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




