बैशाख १६, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
निकुञ्ज प्रशासनका अनुसार मध्यवर्ती वन क्षेत्र, सामुदायिक वन, कबुलियती वन, सडक छेउ, खोला तथा नदी किनारमा अनाधिकृत रूपमा निर्माण गरिएका टहरा, घर, कटेरा, घेराबार तथा पक्की संरचना तत्काल हटाउन निर्देशन दिइएको छ ।
जारी सूचनामा १५ दिनभित्र अतिक्रमण हटाई वन क्षेत्र खाली नगरे कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने जनाइएको छ ।
निकुञ्ज कार्यालयले अटेर गरी अतिक्रमण जारी राखेमा संरचना भत्काउने, जरिवाना तथा कैद सजायसम्म हुन सक्ने जनाएको छ । साथै अतिक्रमण हटाउने कार्यमा अवरोध पुर्याउने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ ।



