काठमाडौं । भारतको बिहारमा लामो समयदेखि सत्तामा रहेका नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरसमक्ष राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
झण्डै दुई दशकसम्म निरन्तर प्रभाव कायम राखेका नितिशको बहिर्गमनसँगै बिहारको राजनीतिमा ठूलो परिवर्तन आएको छ । ७५ वर्षीय उनले स्वास्थ्य अवस्था र केन्द्रीय राजनीतिमा सक्रिय हुने योजनाका कारण पद छाडेको बताइएको छ । हालै मात्र उनी राज्यसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनको राजीनामासँगै अब बिहारमा पहिलोपटक भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ । भाजपा नेता सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । विधानसभामा ८९ सिटसहित भाजपा सबैभन्दा ठूलो दलको रूपमा रहेको छ ।
नयाँ मुख्यमन्त्रीसहित मन्त्रिमण्डलको शपथ ग्रहण आज हुने र सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित हुने जनाइएको छ ।



