२० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८ देखि १९ वर्षको जङ्गली भाले हात्ती सौराहा वरपर देखा परेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार यो हात्ती धेरैजसो सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य रैथाने जङ्गली हात्तीहरूले लखेटेका थिए । अहिले यो हात्ती सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीसार भएका ठाउँहरूमा आउजाउ गर्ने गरेको छ । खुसीको कुरा, यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर कुनै क्षति वा दुःख दिएको छैन ।
हात्तीको व्यवहारबारे जानकारी दिँदै संरक्षण अधिकृत पौडेलले बथानमा उपद्रो गरेपछि कमाण्डर (पोथी हात्ती) ले अल्लारे उमेरका भाले हात्तीलाई लखेट्ने र यसरी नै हात्तीहरू एक्लिने गरेको बताउनुभयो । हाल यो हात्ती मध्यवर्ती क्षेत्रमा चरन गर्ने र कहिलेकाहीँ पोथी हात्तीको खोजीमा हात्तीसार पुग्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा यसअघि पनि ध्रुर्वे, गोविन्दे र रोनाल्डोजस्ता जङ्गली हात्तीहरू बथानबाट अलग्गिएर एक्लै बस्दै आएका छन् ।




