१२ जेठ, काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतको नयाँदिल्ली र काठमाडौँमा कार्यरत ३० देशका राजदूत तथा नियोग उपप्रमुखहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार मध्यान्ह ११:३० बजेदेखि सुरु भएको उक्त उच्चस्तरीय भेटवार्ता दुई घण्टासम्म चलेको थियो ।
सामूहिक भेटवार्तामा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका २२ जना र काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका ८ जना गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुखहरूको सहभागिता रहेको थियो ।
परराष्ट्र सचिवद्वारा स्वागत तथा कूटनीतिज्ञहरूको परिचय
भेटवार्ताको औपचारिक सुरुवात गर्दै परराष्ट्रसचिव अमृतबहादुर राईले उपस्थित सबै राजदूत तथा नियोग उपप्रमुखहरूलाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्य पश्चात् परराष्ट्र सचिव राईले क्रमशः सबै देशका कूटनीतिज्ञहरूलाई प्रधानमन्त्री शाहसँग परिचय गराउनुभएको थियो । सो क्रममा सम्बन्धित देशका राजदूतहरूले नेपाल र आफ्नो देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यका बारेमा छोटकरीमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री शाहद्वारा सरकारका प्राथमिकता स्पष्ट
राजदूतहरूको परिचयात्मक कार्यक्रम सकिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले बैठकलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले वर्तमान सरकारका मुख्य प्राथमिकताहरू, नीति तथा नेपालको विकास एजेन्डाहरूबारे विदेशी कूटनीतिज्ञहरूलाई स्पष्ट पार्नुभयो ।

बैठकमा सहभागी राष्ट्रहरू : अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, र स्वीडेन लगायतका देशका राजदूत तथा नियोग उपप्रमुखहरू ।
कूटनीतिक भेटघाटको निरन्तरता
प्रधानमन्त्री शाहको सम्बोधन समापन भएसँगै सहभागी सबै राजदूत तथा नियोग उपप्रमुखहरूले प्रधानमन्त्रीसँग पालैपालो सामूहिक एवं व्यक्तिगत तस्बिर खिचाएका थिए ।
प्रधानमन्त्री शाहसँग विदेशी राजदूतहरूको यो दोस्रो सामूहिक भेटवार्ता हो । यसअघि काठमाडौँमा नियोग रहेका २८ राजदूतमध्ये १७ जनाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिसकेका थिए भने अघिल्लो पटक सहभागी हुन नसकेका बाँकी ११ मध्ये मंगलबारको भेटवार्तामा ८ जना राजदूतहरूको उपस्थिति रहेको थियो ।




