१९ साउन, माडी । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले सामुदायिक उत्तरदायित्व र हरित प्रवर्द्धनलाई जोड दिँदै फलफूलका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । ‘हरित अभियान, समृद्ध किसान, फलफूल रोपौँ आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा संस्थामा आवद्ध ९३ जना सदस्य दिदीबहिनीहरूलाई आम्दानीमूलक फलफूलका बिरुवाहरू हस्तान्तरण गरिएको हो ।
केन्द्र नम्बर ४५ की सदस्य धनमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुरन प्रसाद महतो मुख्य अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले मुलुकमा ठूला वित्तीय संस्थाहरू रहे तापनि साना तथा विपन्न वर्गसम्म बिनाधितो कर्जा सुविधा पुर्याउन लघुवित्तको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । नेष्डो समृद्ध लघुवित्तले इमान्दारीका साथ विपन्न परिवारकेन्द्रित सेवा प्रवाह गर्दै आएकोमा प्रशंसा गर्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप विस्तार गर्न शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी भागीरथ बस्यालले संस्थाले सामाजिक, स्वास्थ्य र शिक्षाका क्षेत्रमा पुर्याएको योगदानको सराहना गर्दै बिरुवाको उचित गोडमेल र संरक्षण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । यस्तै, माडी शाखा प्रबन्धक धुर्व पौडेलले गत वर्ष ४१५ घरपरिवारलाई तरकारीको बीउ वितरण गरिएको स्मरण गराउँदै यस वर्ष उन्नत जातका फलफूलका बिरुवा वितरणले सदस्यहरूको आम्दानी वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कुल १०३ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा शाखा मातहतका ३० वटा केन्द्रका ९३ जना सदस्यहरूलाई आँप, लिची, एभोकाडो, कागती र अम्बाका बिरुवा वितरण गरिएको थियो । साथै सदस्यहरूलाई संस्थाले प्रदान गर्ने स्वास्थ्य शिविर, छात्रवृत्ति, दुर्घटना उपचार तथा सुत्केरी राहत जस्ता कल्याणकारी सुविधाहरूबरमे पनि विस्तृत सहजीकरण गरिएको थियो ।




