४ भदौ, चितवन । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडकखण्डको मर्मत कार्यले तीव्रता पाएको छ । भरतपुर–२३ स्थित राप्ती नदी पुलदेखि माडीको बनकट्टास्थित रिउ खोला पुलसम्मको सडकमा सडक डिभिजनले स्रोतसाधन परिचालन गरी ग्राभेल तथा मर्मतको काम गरिरहेको हो ।
सडक मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको नगरप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । यसअघि सडक डिभिजनकै सहयोगमा बनकट्टादेखि कसरासम्मको सडकको दुवैतर्फ झाडी फँडानी गरिएको थियो । झाडी सफा गरिएसँगै अहिले सडकको अवस्था सुधार गर्न मर्मतको काम अघि बढाइएको हो ।
लामो समयदेखि जीर्ण रहेको सडक मर्मत भएसँगै निकुञ्जको बाटो हुँदै माडी आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई यात्रा गर्न निकै सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।







