राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीमाथि जापानको ओसाकामा भौतिक आक्रमणको प्रयास भएको दाबी गरिएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार, गएराति एक सार्वजनिक कार्यक्रममा सहभागी भएका सांसद शाहीलाई लक्षित गर्दै केही व्यक्तिले ‘मुर्दाबाद’ लगायतका नाराबाजी गरेका थिए। त्यसक्रममा उनीमाथि आक्रमण गर्ने प्रयास भएको दाबी गरिएको छ।
घटनापछि कार्यक्रमस्थलको सुरक्षा व्यवस्था कडा पारिएको र ओसाका प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।
यद्यपि, पक्राउ परेका व्यक्तिको संख्या, परिचय तथा घटनाको वास्तविक कारणबारे जापानी प्रहरीबाट आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
यस घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको भन्दै सम्बन्धित निकायको आधिकारिक जानकारी सार्वजनिक भएपछि थप समाचार अद्यावधिक गरिनेछ।




