माडी, चितवन । वातावरण जोगाउन र नगरवासीको स्वास्थ्यलाई सुरक्षित राख्न भन्दै माडी नगरपालिकाले प्लास्टिकजन्य सामग्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकबाट बनेका कप, गिलास, प्लेट र काँटाजस्ता सामग्रीहरूको आयात, भण्डारण, बिक्री तथा वितरणमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो । नगर कार्यपालिकाको यो निर्णयलाई अटेर गरी प्रतिबन्धित सामग्रीको कारोबार वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
स्थानीय प्रशासनले सबै व्यवसायी र नागरिकहरूलाई यो नियम पालना गरेर वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ । यसैबीच, नगरपालिकाका प्रमुख प्रशासनकीय अधिकृत जगत प्रसाद भुसालद्वारा जारी गरिएको सूचनामा व्यवसायीहरूसँग पहिले नै मौज्दात रहेका त्यस्ता प्लास्टिकका सामानहरू व्यवस्थापन गर्नका लागि १५ दिनको समयसीमा तोकिएको छ र उक्त अवधिभित्रै आफ्ना सामानहरू उचित व्यवस्थापन गरिसक्न समेत सूचित गरिएको छ ।



