२४ असार, चितवन । लगातार मानवीय क्षति गराउँदै आएको ‘ध्रुवे’ नामक जङ्गली हात्तीलाई नियन्त्रणमा लिएर त्यसको दाह्रा छोट्याउने निर्णय चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गरेको छ । गत शनिबार राति मात्रै भरतपुर-२३ मा एक महिला र उनका ४ वर्षीय छोराको ज्यान लिएपछि हात्तीलाई मार्नुपर्ने जनदबाब बढेको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार हात्तीलाई भेटिनासाथ बेहोस (डार्ट) बनाएर दाह्रा काटिनेछ र नयाँ रेडियो कलर जडान गरिनेछ । नयाँ प्रविधिको रेडियो कलरले हात्ती बस्ती नजिक आउनासाथ तत्काल सूचना दिने र स्थानीयलाई सतर्क गराउन सहज हुने विश्वास गरिएको छ ।
ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ । यसअघि पनि पटक-पटक यसको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने कार्य हुँदै आएको थियो ।




