काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् । बुधवारको बैठकमा शून्य समय सकिएपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अगाडि बढाउन खोज्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न समय दिन खोज्दा विपक्षी सांसदहरूले नियमावलीको व्यवस्थाप्रति असहमति जनाउँदै होहल्ला गरेका थिए । सो क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री नआउने भए प्रधानमन्त्री बिनाको सरकार भन्नुपर्ने टिप्पणी गर्नुभएको थियो । जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएपछि अध्यक्ष साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् । विपक्षीको निरन्तर अवरोध र नाराबाजीपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।



