१५ असार, चितवन । आज असार १५ गते दही–चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको विशेष अवसर पारेर युवा बचत समूहले सडक तथा अनाथ बालबालिका र वृद्धवृद्धालाई दही–चिउरा एवं आँप वितरण गरेको छ । समूहले भरतपुरको हाकिम चोक, पुल चोक, नारायणी नदी किनार र पोखरा बसपार्क हुँदै देवघाटसम्म पुगेर कम्तिमा पनि १५० जना बालबालिका र वृद्धवृद्धालाई दही–चिउरा र आँप वितरण गरेको हो ।
उक्त कार्यमा समूहका अध्यक्ष राजिब महतो, कोषाध्यक्ष तेज चौधरी, सचिव सोयान सुनार तथा सदस्यहरू असोक चौधरी र रामनाथ न्यौपाने प्रत्यक्ष रूपमा उपस्थित भई कार्यक्रम सम्पन्न गर्नुभएको थियो । यसैगरी समूहका अन्य सदस्यहरूले भने अप्रत्यक्ष रूपमा यस कार्यमा सहयोग पुर्याउनुभएको थियो ।
करिब २ वर्ष अगाडि स्थापना भएको यस समूहमा हाल १५ जना सदस्यहरू आबद्ध छन्, जसमा अधिकांश माडी नगरपालिका निवासी युवाहरू रहेका छन् । सामाजिक कार्यमा सधैँ सरिक रहने र आफ्नै देशमा केही गर्ने उद्देश्य बोकेको यस समूहले युवाहरू मासिक रूपमा बचत गर्दै स्वदेशमै व्यवसाय गर्न चाहने युवाहरूलाई आर्थिक तथा सामाजिक रूपले सहयोग गर्दै आइरहेको समूहका अध्यक्ष राजिब महतोले जानकारी दिनुभयो ।




