१० जेठ, काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थमा लागिरहेको कर दक्षिण एसियामै सबैभन्दा कम रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले यसलाई बढाएर कम्तीमा ५० प्रतिशत पुर्याउन माग गरेकी छन् ।
सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले थोरै मात्रामा गरिने कर वृद्धिले उपभोक्ताको बानीमा सुधार नआउने भएकाले उपभोग घटाउन ठोस नीतिको आवश्यकता रहेको औंल्याइन् । सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर र रक्तनलीसम्बन्धी जटिल रोगहरू लाग्ने र यसले नागरिकको कार्यक्षमता घटाउनुका साथै राज्यलाई ठूलो आर्थिक क्षति पुर्याइरहेको उनको भनाइ छ ।
सांसद कार्कीले विशेषगरी युवा र विपन्न वर्गलाई धुम्रपानबाट टाढा राख्न कर वृद्धि फलदायी हुने दाबी गरिन् । साथै, सुर्तीजन्य पदार्थ र मदिरा जस्ता हानिकारक वस्तुबाट उठ्ने राजस्वलाई अन्य क्षेत्रमा खर्च गर्नुको सट्टा सिधै स्वास्थ्य बीमाको पुनर्संरचनामा लगानी गर्नुपर्ने नयाँ प्रस्ताव उनले अघि सारेकी छन् । अरूले धोएको धुवाँका कारण बालबालिका र गर्भवती महिलाहरू ‘प्यासिभ स्मोकिङ’ को जोखिममा परेको भन्दै उनले आगामी बजेटमा यी विषयहरूलाई सम्बोधन गराउन अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको जानकारी दिइन् ।




